दत्तको उपचारका लागि च्यारिटी शोमार्फत ५ लाख ४७ हजार रुपैयाँ संकलन

जनकपुरधाम, २४ चैत । मैथिली सांस्कृतिक क्षेत्रका वरिष्ठ गीतकार अशोक दत्त लामो समयदेखि मुखको क्यान्सरबाट पीडित रहेका छन् ।
स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले स्थानीय संघसंस्थाहरू र कलाकारहरूको पहलमा भव्य च्यारिटी सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
मैथिलीका करिब ८०–९० जना कलाकारहरूले विना कुनै शुल्क आफ्नो प्रस्तुति कार्यक्रममा पस्किए । कार्यक्रममा सहभागी दर्शकहरूले आफ्नो–आफ्नो टिकट कटाएर कलाकारहरूको प्रस्तुति हेरे र सहयोगको हात फैलाए ।
कार्यक्रमको व्यवस्थापनमा ‘मैथिली विकास कोष’ले सभाकक्ष र ‘शिवालय साउण्ड’ले साउन्ड तथा लाइट नि:शुल्क उपलब्ध गराएको थियोे ।
कार्यक्रमबाट सङ्कलित कुल रकम ५ लाख ४७ हजार १०० रूपैयाँ जीवनाथ चौधरी, सुनील मल्लिक, नवीन मिश्र, रितेश पाटली र राशेन मिश्रले दत्तको घरमा पुगेर हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका आयोजकले भने, ‘अशोक दत्त जस्ता प्रतिभाशाली कलाकारलाई स्वास्थ्य उपचारमा आर्थिक अभावले बाधा नपरोस् भन्ने हाम्रो उद्देश्य थियो । यो च्यारिटी शोमा सहभागी सबै कलाकार र सहयोगीहरूको योगदान अतुलनीय छ ।’ कार्यक्रममार्फत संकलित रकम दत्तको उपचार खर्चमा उपयोग गरिनेछ ।
दत्तका आफन्त र शुभेच्छुकहरूले आयोजक र सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी कलाकार र स्थानीय समाजले देखाएको सहयाेगले सांस्कृतिक समुदायमा आपसी एकता र सहयोगको महत्त्वलाई पुनः प्रमाणित गरेको छ ।
कार्यक्रमबाट प्राप्त सहयोग र सामूहिक प्रयासले एक कलाकारको उपचारमा मात्र नभई भविष्यमा पनि सामुदायिक चेतना र सांस्कृतिक सहकार्यको प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


