महोत्तरी दुर्घटनाप्रति मन्त्री तिवारीद्वारा दुःख व्यक्त, घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

जनकपुरधाम, २४ चैत । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित जलेश्वर–बर्दिबास हुलाकी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा तीन विद्यार्थीको ज्यान गएको घटनाप्रति मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले गहिरो दुःख व्यक्त गरेकी छन् ।
एसईई परीक्षा दिएर घर फर्किने क्रममा भएको उक्त दुर्घटनामा तीन विद्यार्थीको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । घटनापछि प्रभावित परिवार र स्थानीय समुदाय शोकमा डुबेका छन् ।
मन्त्री तिवारीले मंगलबार जारी गरेको शोक सन्देशमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेकी छन् ।
उनले यस्ता दुःखद घटनाले समाजलाई स्तब्ध बनाउने उल्लेख गर्दै सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन, ट्राफिक नियमको कडाइका साथ पालना गर्न र तीव्र गति नियन्त्रणमा राख्न सबैलाई आग्रह गरेकी छन् ।
दुर्घटना न्यूनीकरणका लागि सरकारी प्रयाससँगै नागरिकस्तरबाट समेत जिम्मेवारी र सचेतना आवश्यक रहेकोमा मन्त्री तिवारीले जोड दिएकी छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


