जनकपुरधाम, २४ चैत । मधेश प्रदेशका अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने समाचार लेखन तथा सम्पादन सम्बन्धी तालिम मंगलबारदेखि धनुषाको ढल्केबरमा सुरु भएको छ ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सञ्चालन भएको उक्त तालिममा प्रदेशका आठवटै जिल्लाबाट अनलाइन पत्रकारितामा सक्रिय सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको छ ।

सहभागीहरूले दुई दिनसम्म समाचार लेखनका आधारभूत सिद्धान्त, सम्पादन प्रक्रिया, भाषा शैली तथा व्यावसायिक पत्रकारितासम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्नेछन् ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

उनले वर्तमान सरकार पनि सञ्चार क्षेत्रकै योगदानबाट स्थापित भएको उल्लेख गर्दै पछिल्लो समय निजी मिडियालाई कमजोर बनाउने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

‘लोकतन्त्रको रक्षा र पारदर्शिताका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य छ,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्ण तथा मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले विशिष्ट अतिथिका रूपमा मन्तव्य राख्दै पत्रकारितामा गुणस्तर, विश्वसनीयता र उत्तरदायित्व बढाउन यस्ता तालिमको आवश्यकता औँल्याए ।

तालिमका मुख्य सहजकर्ता समेत रहेका झाले सहभागी पत्रकारहरूलाई समाचारको संरचना, तथ्यपरक प्रस्तुति, स्रोतको प्रयोग तथा सम्पादनका व्यवहारिक पक्षबारे प्रशिक्षण दिनेछन् ।

उनले डिजिटल पत्रकारिताको बढ्दो प्रभावसँगै तथ्य जाँच (फ्याक्ट–चेक) र जिम्मेवार सामग्री उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले प्रदेशमा कार्यरत पत्रकारहरूको पेशागत हकहित संरक्षण तथा क्षमता विकासका लागि प्राधिकरणले विभिन्न योजनाहरू अघि बढाएको जानकारी दिए । उनका अनुसार ती योजनाहरू चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।

खड्गाले मधेश प्रदेशमा सञ्चार क्षेत्रको विस्तार तीव्र रूपमा भइरहेको उल्लेख गर्दै हालसम्म जनकपुरधामस्थित प्राधिकरणमा १०४ वटा सञ्चारमाध्यम दर्ता भइसकेको जानकारी दिए ।

उनले दर्ता भएका तथा नयाँ सञ्चारमाध्यमलाई व्यवस्थित र उत्तरदायी बनाउने दिशामा प्राधिकरण सक्रिय रहेको बताए ।

तालिमले सहभागी पत्रकारहरूको सीप अभिवृद्धि गर्दै प्रदेशको सञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।