महोत्तरीमा भयानक मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, तीन गम्भीर घाइते

महोत्तरी, २४ चैत । जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत महोत्तरीमा मंगलबार भएको भीषण मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सिमानामा पर्ने एकडारा–५ स्थित बखरी चोक नजिक दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा सवार व्यक्तिहरू जलेर घाइते भएका थिए ।
दुर्घटनामा ज्यान गुमाउनेमा जलेश्वर नगरपालिका–६ का सुभाष दास, रवि दास तथा एकडारा गाउँपालिका–३ अजमरपट्टीका अभिषेक मण्डल रहेका छन् । उनीहरूको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा परेर जलेश्वर नगरपालिका–६ का रोहित दास, जयकुमार महतो र अभय कापर गम्भीर घाइते भएका छन् । घाइतेमध्ये महतो र कापरको पूर्ण ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुवै मोटरसाइकलमा तीन–तीन जना सवार रहेको बताइएको छ ।
दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनाको वास्तविक कारण अझै खुल्न नसकेको र आगलागी कसरी भयो भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतकहरूको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


