मिथिला नगरपालिकामा छड्के, स्वास्थ्य चौकी र वडा कार्यालयमा अधिकांश कर्मचारी अनुपस्थित

जनकपुरधाम, २४ चैत । धनुषाको मिथिला नगरपालिकाका विभिन्न सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरिएको छ ।
नगर प्रमुख महेन्द्र महतोको नेतृत्वमा गरिएको अनुगमनले सेवा प्रवाहमा गम्भीर प्रश्न उठाएको हो ।
नगर प्रमुख महतो र प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवसहितको टोलीले मंगलबार बिहान मिथिला नगरपालिकाको कार्यालय, ढल्केवर स्वास्थ्य चौकी, वडा नम्बर–६ र वडा नम्बर–२ का कार्यालय तथा नक्टाझिज हेल्थपोष्टमा छड्के अनुगमन गरेका हुन् ।
बिहान ९ बजेर १० मिनेटदेखि १० बजेसम्म गरिएको अनुगमनका क्रममा विशेषगरी स्वास्थ्य संस्थाहरूको अवस्था चिन्ताजनक पाइएको नगर प्रमुख महतोले बताए ।
उनका अनुसार नक्टाझिज हेल्थपोष्टमा १० बजेसम्म पनि अधिकांश कर्मचारीहरू कार्यालयमा उपस्थित थिएनन् ।
‘अनुगमनका क्रममा धेरैजसो कर्मचारीहरू समयमा कार्यालयमा नआएको पाइयो,’ महतोले भने, ‘यसले सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने भएकाले अब कडाइ गरिन्छ ।’
अनुगमन टोलीले केही वडा कार्यालयहरूमा पनि कर्मचारीहरूको उपस्थिति न्यून रहेको पाएको जनाएको छ । सेवाग्राहीहरू बिहानैदेखि सेवा लिन आए पनि कर्मचारी नहुँदा समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।
नगर प्रमुख महतोले कर्मचारीहरूको गैरजिम्मेवार व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा नियमित अनुगमनलाई तीव्रता दिने चेतावनी दिए । उनले समयपालन नगर्ने र कार्यसम्पादनमा लापरवाही गर्ने कर्मचारीमाथि आवश्यक कारबाही गरिने स्पष्ट पारे ।
नागरिकले सहज र प्रभावकारी सेवा पाउनुपर्ने अवस्थामा यस्तो लापरवाहीले स्थानीय सरकारप्रति विश्वास घट्ने खतरा बढेको सरोकारवालाहरू बताउँछन् ।
नगरपालिकाले अब अनुगमनलाई नियमित बनाउने र सेवा प्रवाहलाई सुधार गर्ने दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


