चार्जिङ स्टेशनको नाममा घुस लिँदै गरेका इन्जिनियर दास पक्राउ

सप्तरी, २४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
चार्जिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी लाइन उपलब्ध गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियारले विशेष निगरानी बढाएको थियो ।
सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
उनीलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका दासमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


