जनकपुरधाम, २३ चैत । सर्वसाधारणलाई सरकारी सेवामा पहुँच दिलाइदिने बहानामा ठगी गर्दै आएको आरोपमा धनुषा प्रहरीले पाँच जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई भूमि सुधार तथा मालपोत कार्यालय धनुषा परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा कमला नगरपालिका–८ का ४२ वर्षीय नविन कुमार गोढान, जनकनन्दिनी गाउँपालिका–४ का ५३ वर्षीय राम बिनोद साह र महोत्तरीको पिपरा गाउँपालिकाका स्थायी बासिन्दा भई हाल जनकपुरधाम उपमहानगरपालिका–१३ बस्दै आएका ४० वर्षीय बिराजी यादव रहेका छन् ।

यस्तै, सबैला नगरपालिका–११ का ४४ वर्षीय जय गोविन्द यादव र जनकपुरधाम उपमहानगरपालिका–२ कदमचोकका ३० वर्षीय ज्ञानदेव साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरू विभिन्न सरकारी तथा सार्वजनिक सेवा छिटो गराइदिने नाममा सेवाग्राहीसँग अवैध रूपमा रकम असुल्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।