कदमचोकका फुटपाथ खाली

जनकपुरधाम, २३ चैत । मधेश प्रदेशको राजधानी जनकपुरधाममा फुटपाथ तथा ऐतिहासिक क्षेत्र अतिक्रमण गरेर बनाइएका घर टहराहरू हटाइएको छ ।
गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको अगुवाइमा जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा उक्त अभियान सञ्चालन गरिएको हो ।
सोमबार कदमचोकमा फुटपाथ मिचेर बनाइएका अस्थायी संरचनाहरू हटाइएको छ ।
लामो समयदेखि व्यापारीहरूले फुटपाथ अतिक्रमण गरी पसल तथा टहरा निर्माण गर्दा पैदलयात्रीहरू सडकमै हिँड्न बाध्य थिए । यसले दुर्घटनाको जोखिम बढाएको भन्दै सर्वसाधारणबाट गुनासो उठ्दै आएको थियो ।
अतिक्रमण हटाउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरीको ठूलो टोली परिचालन गरिएको थियो ।
सुरक्षाकर्मीको उपस्थितिमा व्यवस्थित ढंगले संरचना हटाइएपछि अहिले फुटपाथ खाली भएको छ र पैदलयात्रीहरूले सहज रूपमा आवागमन गर्न थालेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले व्यापारीहरूलाई सार्वजनिक स्थानमा सामान नराख्न आग्रह गर्दै नियम पालना गर्न सबैसँग अपिल गरे ।
स्थानीय प्रशासनले आगामी दिनमा पनि सार्वजनिक स्थलको संरक्षण र व्यवस्थापनका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


