जनकपुरधाम, २३ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सोमबार महोत्तरी जिल्लाको मटिहानीस्थित प्रसिद्ध पौराणिक श्री लक्ष्मी नारायण मठ (मन्दिर) को अवलोकन भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री महतोले भगवान लक्ष्मी नारायणको दर्शन तथा पूजा अर्चना गरेका हुन् ।

मटिहानी आइपुग्दा उनलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल तथा मठका उत्तराधिकारी महन्थ डा. रबिन्द्र दास बैष्णवले स्वागत गरेका थिए ।

अवलोकनका क्रममा मन्त्री महतोले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मठको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

त्यसैगरी, उनले मटिहानीको सीमावर्ती दशगजा क्षेत्रको समेत निरीक्षण गर्दै सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिए ।

निरीक्षणका क्रममा सीमा क्षेत्रमा हुने गतिविधि तथा सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउने विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिएको जनाइएको छ ।

उक्त भ्रमणमा प्रदेशसभा सदस्य सुनिता कुमारी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

साथै, मन्त्री महतोले मठका महन्थसँग भेटघाट गर्दै धार्मिक तथा सामाजिक विषयमा समेत छलफल गरेका थिए ।