जनकपुरधाम, २३ चैत । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको छ ।

आयोगका प्रदेश कार्यालय प्रमुख बुद्धनारायण साहनीले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम सोमबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कर्णले मानव अधिकारको संरक्षण र प्रवर्द्धन राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै आयोगले औंल्याएका विषयलाई गम्भीरतापूर्वक अध्ययन गरिने बताए ।

उनले मानव अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरे ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रत्येक वर्ष मानव अधिकारको अवस्था, चुनौती र सुधारका उपायसम्बन्धी प्रतिवेदन तयार गर्दै आएको छ ।

यस प्रतिवेदनले मधेश प्रदेशमा मानव अधिकारको अवस्थाबारे नीतिगत बहस र सुधारका लागि मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।