बर्दिबास अस्पतालमा थाइराइड परीक्षण सेवा सुरु

महोत्तरी, २२ चैत । महोत्तरीको बर्दिबास अस्पतालमा अब थाइराइड रोगको परीक्षण तथा उपचार सेवा सुरु भएको छ ।
आवश्यक उपकरण अभावका कारण लामो समयदेखि बिरामीहरूलाई बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्न बर्दिबास युथ क्लबले महत्त्वपूर्ण सहयोग गरेको हो ।
क्लबले ‘सिला मागलुमि ८००’ नामक थाइराइड परीक्षण मेसिन अस्पताललाई हस्तान्तरण गरेको छ ।
करिब २५ लाख रुपैयाँ मूल्य बराबरको उक्त उपकरणले अब स्थानीय स्तरमै थाइराइड रोगको पहिचान सम्भव बनाउने विश्वास गरिएको छ ।
क्लबका अनुसार सो उपकरणको लागत २४ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले एक कार्यक्रमका बीच नगरप्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई उपकरण हस्तान्तरण गरेका हुन् ।
उपकरण हस्तान्तरणसँगै अस्पतालले आजैदेखि थाइराइड परीक्षण सेवा सुरु गरेको जनाएको छ ।
नगरप्रमुख क्षेत्रीले यसले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे भने अस्पताल विकास समितिका अध्यक्ष शर्माले अब बिरामीहरूलाई सामान्य परीक्षणका लागि पनि बाहिर जानुपर्ने बाध्यता हट्ने बताए ।


