रौतहट, २२ चैत । जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै गठन भएको नयाँ सरकारप्रति आम नागरिकको अपेक्षा उल्लेखनीय रूपमा बढेको छ ।

विशेषगरी बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि वर्षौंदेखि थलिएको औद्योगिक क्षेत्र पुनर्जीवित हुने आशा विभिन्न जिल्लामा देखिन थालेको हो ।

यसैक्रममा रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरस्थित लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालन हुने सम्भावनाले स्थानीयवासी, किसान तथा सरोकारवालाहरूमा नयाँ आशा जागृत गरेको छ ।

सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा उक्त मिल समावेश नभए पनि स्थानीय स्तरमा भने सरकारको सक्रियताले उद्योग पुनर्जीवित हुन सक्ने विश्वास व्यक्त गरिएको छ ।

विगतमा पटक पटक प्रतिबद्धता जनाइए पनि कार्यान्वयन हुन नसकेको यो उद्योग अब भने सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

२०४९ सालमा उद्योगपति दिवाकर गोल्छाद्वारा स्थापना गरिएको श्रीराम सुगर मिल्स एक समय मधेशकै प्रमुख औद्योगिक केन्द्रका रूपमा चिनिन्थ्यो । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको यस उद्योगले दैनिक ठूलो परिमाणमा उखु प्रशोधन गर्ने क्षमता राख्थ्यो ।

मिल सञ्चालनमा हुँदा रौतहट, बारा र सर्लाहीका हजारौं किसानले आफ्नो उखु बिक्रीका लागि भरपर्दो बजार पाएका थिए । त्यतिबेला उद्योगमा प्रत्यक्ष रूपमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा ढुवानी, व्यापार, कृषि तथा सेवा क्षेत्रमा हजारौंको जीविकोपार्जन यसैसँग जोडिएको थियो ।

तर, व्यवस्थापन कमजोरी, आर्थिक संकट र अन्य विविध कारण देखाउँदै २०७७ साउन ११ गते उद्योग स्थायी रूपमा बन्द गरिएको थियो । त्यसपछि किसानहरूले उखु बिक्रीका लागि वैकल्पिक बजार खोज्नुपर्ने बाध्यता झेल्दै आएका छन् । कतिपय किसानले त उखु खेती नै छाड्न बाध्य भएको अवस्था छ ।

स्थानीयका अनुसार सरकारले चाहेमा यो उद्योग पुनः सञ्चालन गर्न असम्भव छैन । उनीहरू व्यवस्थापनको कमजोरीबाट पाठ सिक्दै नयाँ ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् ।

उद्योग पुनः सञ्चालन भएमा कम्तीमा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र हजारौं किसान लाभान्वित हुने विश्वास गरिएको छ । साथै, स्वदेशमै चिनी उत्पादन बढेर आयातमा निर्भरता घट्ने विश्वास पनि व्यक्त गरिएको छ ।

स्थानीय व्यवसायीहरूका अनुसार यो मिल सञ्चालनमा आयो भने यहाँको अर्थतन्त्र चलायमान हुन्छ । कृषि, व्यापार र रोजगारी सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।

उद्योग एक समय देशकै गौरवको रूपमा परिचित रहेको स्मरण गर्दै स्थानीयहरूले यसको पुनः सञ्चालनलाई केवल औद्योगिक पुनरुत्थान मात्र नभई समग्र क्षेत्रको आर्थिक पुनर्जागरणसँग जोडेर हेरेका छन् ।

यद्यपि, हालसम्म सरकारबाट उद्योग सञ्चालनबारे कुनै स्पष्ट निर्णय सार्वजनिक भएको छैन । तर, बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन र विकासलाई प्राथमिकता दिएको भन्दै स्थानीयवासी आशावादी देखिएका छन् ।

स्थानीय तहदेखि किसानसम्म सबै अहिले सरकारको ठोस पहलको प्रतीक्षामा छन् । श्रीराम सुगर मिल्स पुनः सञ्चालन भएमा रोजगारी सृजना, कृषि उत्पादन वृद्धि र औद्योगिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।