मिथिलाबिहारीमा अन्नबालीमा आगजनी, ५ कठ्ठा जौबाली जलेर नष्ट

जनकपुरधाम, २१ चैत । धनुषाको मिथिलाबिहारी नगरपालिकामा अज्ञात व्यक्तिबाट गरिएको आगजनीका कारण ठूलो परिमाणमा अन्नबाली नष्ट भएको छ ।
मिथिलाबिहारी नगरपालिका–५ मा रहेको वडाध्यक्ष सुरेन्द्र कुमार मण्डलको खेतमा काटेर राखिएको जौमा आगो लगाइँदा करिब ५ कठ्ठा क्षेत्रफलको बाली पूर्णरूपमा जलेर नष्ट भएको हो ।
स्थानीयका अनुसार गएराति अज्ञात व्यक्तिले खेतमा थन्क्याएर राखिएको जौको कून्यूमा आगो सल्काइदिएका थिए । आगलागीबाट जौबाली मात्र नभई खेत नजिकै पोखरीको डिलमा लगाइएका साना बोटबिरुवा तथा केही रुखहरू पनि जलेर नष्ट भएका छन् ।
घटनाबारे जानकारी दिँदै वडाध्यक्ष मण्डलले भने, ‘मैले मेहनत गरेर लगाएको जौबाली यसरी जलेर नष्ट हुँदा ठूलो क्षति पुगेको छ । कसले र किन यस्तो गरेको हो, अहिलेसम्म थाहा हुन सकेको छैन ।’
प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । यद्यपि आगो कसले लगाएको भन्ने विषय अझै खुल्न सकेको छैन । घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाहरूले पछिल्लो समय यस्ता आपराधिक गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

