मालपोत कार्यालय रौतहटबाट चार जना बिचौलिया पक्राउ

रौतहट, २० चैत । भूमि प्रशासनसँग सम्बन्धित कार्यालयहरूमा बढ्दो बिचौलिया गतिविधिमाथि नियन्त्रण गर्न सुरु गरिएको अभियानअन्तर्गत रौतहटमा चार जना बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सरकारी निर्देशनअनुसार मालपोतलगायतका कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएपछि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा सेवाग्राहीसँग रकम असुल्दै काम मिलाइदिने प्रयास गरिरहेको अवस्थामा चार जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा यमुनामाई गाउँपालिका–२ का करिब २८ वर्षीय सिकित नारायण, राजदेवी नगरपालिका–७ का २४ वर्षीय बब्लु प्रसाद यादव, परोहा नगरपालिका–७ का ३९ वर्षीय रामनरेश प्रसाद पटेल र गौर नगरपालिका–८ का राजेन्द्र राउत बरै रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू कार्यालय परिसरमै सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही आर्थिक लेनदेनमार्फत सेवा सहजीकरण गर्ने नाममा अवैध गतिविधिमा संलग्न थिए । पक्राउ परेकामाथि हाल थप सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
मालपोत कार्यालयहरूमा लामो समयदेखि बिचौलियाको प्रभाव रहेको गुनासो आइरहेको अवस्थामा सरकारले यस्तो गतिविधि नियन्त्रण गर्न कडाइ थालेको छ ।

