अलपत्र विकास योजनाबारे सूचना दिन जनकपुरवासीसँग सांसद झाको आग्रह

जनकपुरधाम, २० चैत । धनुषा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधाम तथा आसपास क्षेत्रमा अधुरा र अलपत्र अवस्थामा रहेका विकास आयोजनाबारे जानकारी उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै सांसद झाले सडक, पुल तथा विभिन्न सार्वजनिक भवन निर्माण कार्य सुरु भएर पनि लामो समयदेखि रोकिएको अवस्थाले जनजीवनमा गम्भीर असर परेको उल्लेख गरेका छन् ।
उनले यस्ता आयोजनाहरूको यथार्थ अवस्था संकलन गरेर सम्बन्धित निकायलाई जवाफदेही बनाउने आफ्नो उद्देश्य रहेको स्पष्ट पारे ।
‘जनकपुरधाम र वरपरका क्षेत्रमा सुरु भएर अलपत्र परेका विकास आयोजनाहरूको यथार्थ विवरण आवश्यक छ,’ उनले भने, ‘स्थानीय बासिन्दाबाट प्राप्त सूचनाका आधारमा म सम्बन्धित निकायसँग समन्वय गरेर यस्ता योजनाहरूलाई पुनः सञ्चालनमा ल्याउन पहल गर्नेछु ।’
सांसद झाले विशेषगरी अधुरा सडक विस्तार, आधा बनेका पुल तथा प्रयोगविहीन अवस्थामा रहेका सरकारी भवनहरूले स्थानीय जनताको दैनिक जीवनमा समस्या थपेको बताए ।
वर्षायाममा हिलाम्मे सडक, अधुरा संरचनाका कारण दुर्घटनाको जोखिम तथा सार्वजनिक स्रोतको दुरुपयोगजस्ता विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै उनले नागरिक सहभागितामार्फत यस्ता समस्या समाधान गर्न खोजिएको बताए ।
उनले नागरिकलाई निर्माणाधीन तर अलपत्र अवस्थाका आयोजनाको स्थान, ठेकेदार, सुरु भएको मिति र हालको अवस्थासहितको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।
प्राप्त सूचनालाई व्यवस्थित रूपमा संकलन गरी संसद र सम्बन्धित मन्त्रालयसम्म पुर्याउने योजना रहेको उनले जानकारी दिए ।
‘विकासका नाममा बजेट खर्च हुने तर काम अधुरै रहने प्रवृत्तिलाई अन्त्य गर्न सबैको सहकार्य आवश्यक छ,’ उनले भने, ‘जनताबाट प्राप्त तथ्यांकका आधारमा ठोस रूपमा प्रश्न उठाएर जिम्मेवार निकायलाई दबाब दिनेछु ।’
स्थानीयले सांसद झाको पहललाई सकारात्मक रूपमा लिँदै यस्तो अभियानले विकास आयोजनामा पारदर्शिता र उत्तरदायित्व बढाउने विश्वास व्यक्त गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाभित्र पछिल्लो समय विभिन्न पूर्वाधार आयोजनाहरू सुरु भए पनि धेरै काम निर्धारित समयमै सम्पन्न हुन नसकेको गुनासो बढ्दै गएको छ ।
यस्तो अवस्थामा सांसद झाको पहलले अलपत्र योजनाको वास्तविक अवस्था उजागर हुने र तिनीहरूको शीघ्र सम्पन्नताका लागि दबाब सिर्जना हुने विश्वास गरिएको छ ।


