जनकपुरधाम, २० चैत । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सडक तथा सडक पेटी अतिक्रमण गरी सञ्चालन भइरहेका व्यापार–व्यवसायप्रति कडा कदम उठाएको छ ।

उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक स्थान अवरुद्ध हुने गरी राखिएका सम्पूर्ण सामग्री २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो ।

उपमहानगरपालिकाका अनुसार सडक र पैदलमार्ग अवरुद्ध हुँदा यातायात सञ्चालनमा समस्या आउनुका साथै सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको गुनासो बढ्दै गएको छ । त्यसलाई मध्यनजर गर्दै यस्तो कदम चालिएको जनाइएको छ ।

सूचनामा तोकिएको समयसीमाभित्र सडक पेटीमा राखिएका पसल, ठेला, निर्माण सामग्री तथा अन्य अवरोधक वस्तुहरू नहटाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने उल्लेख छ ।

उपमहानगरले नगरवासी तथा व्यवसायीहरूलाई नियमको पालना गर्न आग्रह गर्दै सहयोग गर्न अपिल गरेको छ ।

यसअघि पनि पटक पटक अतिक्रमण हटाउने अभियान सञ्चालन गरिए पनि पुनः सडकमा सामग्री राख्ने प्रवृत्ति कायम रहेकाले यसपटक कडाइका साथ कार्यान्वयन गरिने उपमहानगरले चेतावनी दिएको छ ।