६ वर्षदेखि धुलो र धुवाँको मार: कञ्चनपुर–कमला सडक आसपासका बासिन्दा आन्दोलित

—श्याम कुमार ठाकुर
सिरहा, २० चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुर–कमला सडक खण्डमा जारी निर्माण कार्यको ढिलासुस्ती र धुलो नियन्त्रणमा भएको लापरवाहीका कारण स्थानीय बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ ।
वर्षौंदेखि समस्यामा पर्दै आएका स्थानीय अन्ततः सडकमै उत्रेर आन्दोलन गर्न बाध्य भएका छन् ।
बिहानको समयसँगै सवारी साधनको चाप बढ्न थालेपछि सडक क्षेत्रमा धुलोको बाक्लो मुस्लो फैलिन्छ । सडक छेउका घर, पसल र सार्वजनिक स्थलहरू केही क्षणमै धुलोले ढाकिन्छन् । यही वातावरणबीच स्थानीय बासिन्दा दैनिक जीवनयापन गर्न बाध्य छन् ।
वि.सं. २०७७ (सन् २०२०) मा सुरु गरिएको सडक विस्तार योजना सुरु हुँदा स्थानीयमा ठूलो आशा थियो ।
चिनियाँ निर्माण कम्पनी चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुपले जिम्मा लिएको उक्त आयोजना समयमै सम्पन्न भई सहज आवागमन हुने विश्वास गरिएको थियो । तर, ६ वर्ष बितिसक्दा पनि काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
दिनभर उड्ने धुलो साँझसम्म पनि नियन्त्रणमा आउँदैन । कहिलेकाहीँ बेलुका पानी छर्किए पनि त्यो पर्याप्त नहुने स्थानीयको गुनासो छ ।
‘साँझतिर पानी हालिन्छ, त्यो पनि नियमित हुँदैन । रातभर धुलोमै बस्नुपर्छ, सुत्नै सकिँदैन,’ एक स्थानीयले आक्रोश पोखे ।
धुलो र धुवाँका कारण यहाँका बासिन्दामा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्वास्थ्य समस्या बढ्दै जाँदा दैनिक कामकाज गर्नसमेत कठिनाइ भइरहेको स्थानीय बताउँछन् ।
सडकको दयनीय अवस्थाले स्थानीय बजारसमेत प्रभावित भएको छ । लहान र मिर्चैया जस्ता व्यस्त बजार क्षेत्र अहिले सुनसानजस्तै देखिन थालेका छन् । धुलो र हिलोका कारण ग्राहकको आवागमन घट्दा व्यापार–व्यवसायमा प्रत्यक्ष असर परेको व्यापारीहरू बताउँछन् ।
‘पहिला दिनभर ग्राहक हुन्थे, अहिले पसल खोलेर बस्नु मात्रै भएको छ, आम्दानी झन्डै शून्य भएको छ,’ एक व्यवसायीले दु:खेसो गरे ।
सम्झौता अनुसार तीन वर्षभित्र सम्पन्न हुनुपर्ने ८६.८२ किलोमिटर सडक खण्ड हालसम्म करिब ६९ प्रतिशत मात्र निर्माण सम्पन्न भएको जनाइएको छ । पटक पटक म्याद थपिए पनि निर्माण कार्यले गति लिन सकेको छैन ।
निर्माणमा भएको ढिलाइ र धुलो नियन्त्रणमा बेवास्ताका कारण स्थानीयको असन्तुष्टि बढ्दै गएको छ । सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबार बिहानदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । करिब पाँच घण्टासम्म सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन रोकिएका थिए भने हजारौँ यात्रु अलपत्र परेका थिए ।
‘धेरै पटक आन्दोलन गर्यौँ । तर, सुनुवाइ भएन । अब समस्या समाधान नभएसम्म आन्दोलन जारी रहन्छ,’ एक आन्दोलनकारीले चेतावनी दिए ।
सम्बन्धित निकायले कोभिड–१९ महामारी, रुख कटानको प्रक्रिया, विद्युत् पोल सार्ने लगायतका कारणले ढिलाइ भएको दाबी गर्दै आएका छन् । तर, स्थानीयले ती कारणलाई बहानामात्र भएको आरोप लगाएका छन् ।
धुलो, धुवाँ, अव्यवस्थित सडक र अनिश्चित निर्माण कार्यका कारण यहाँका बासिन्दाको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ ।
वर्षौँदेखि समाधानको प्रतीक्षामा रहेका स्थानीय अब तत्काल, प्रभावकारी र दीर्घकालीन समाधानको माग गर्दै संघर्षमा उत्रिएका छन् ।










