जनकपुरधाम, २० चैत । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जानकी नवमी पर्वलाई राष्ट्रिय स्तरमा मान्यता दिँदै सार्वजनिक विदा घोषणा गर्न रामानन्दीय वैष्णव संघले सरकारसँग औपचारिक माग गरेको छ ।

संघका अध्यक्ष रामरोशन दासले जानकी नवमी धार्मिक आस्था मात्र नभई नेपालको पहिचान, संस्कृति र पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्यले यसको महत्व बुझ्न आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष दासले माता जानकीको जन्मभूमि जनकपुरधाम विश्वभरका हिन्दू श्रद्धालुहरूको आस्थाको केन्द्र रहेको उल्लेख गर्दै यस्तो ऐतिहासिक तथा धार्मिक धरोहरलाई राष्ट्रिय स्तरमा उचित सम्मान दिनुपर्ने बताए ।

‘जनकपुरधाम एउटा शहर मात्र नभई यो हाम्रो सभ्यता र संस्कृति हो । यहाँ मनाइने जानकी नवमीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्छ,’ उनले भने ।

उनका अनुसार जानकी नवमीको दिन देशभर सार्वजनिक विदा घोषणा गरिएमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने, स्थानीय अर्थतन्त्र सुदृढ हुने र सांस्कृतिक संरक्षणमा समेत योगदान पुग्नेछ ।

अध्यक्ष दासले सरकारले दशैं, तिहार, बुद्ध जयन्ती जस्ता पर्वहरूमा विदा दिँदै आएको सन्दर्भ उल्लेख गर्दै जानकी नवमी जस्तो ऐतिहासिक पर्वलाई उपेक्षा गर्नु न्यायोचित नहुने धारणा व्यक्त गरे ।

‘माता जानकी धार्मिक पात्र मात्र होइनन्, उनी नेपाली पहिचानको अभिन्न अंग हुन् । उनको जन्मोत्सवलाई राज्यले औपचारिक रूपमा मान्यता दिनु भनेको हाम्रो गौरवशाली इतिहासको सम्मान गर्नु हो,’ दासले थपे ।

संघले यस विषयमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराउँदै छिटो निर्णय लिन आग्रह गरेको छ । साथै, देशभरका धार्मिक संघसंस्था, बुद्धिजीवी तथा सर्वसाधारणलाई पनि यस अभियानमा साथ दिन आह्वान गरिएको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने जानकी नवमीमा हजारौं श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ । विशेष पूजा, झाँकी, सांस्कृतिक कार्यक्रम तथा धार्मिक अनुष्ठानहरू आयोजना गरिने यो पर्वले नेपालको धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।