जनकपुरधाम, २० चैत । जनकपुरधाम उपमहानगरपालिकाले बेरोजगार महिला तथा पुरुषलाई लक्षित गर्दै निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

नगरसभाको निर्णयअनुसार आगामी दिनमा सञ्चालन हुने तालिमका लागि १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको छ ।

सूचनाअनुसार चार पाङ्ग्रे सवारी चालक सम्बन्धी ३० दिने तालिम र माटोको लहठी तथा चुरी बनाउने १५ दिने तालिम सञ्चालन गरिनेछ ।

चालक तालिमका लागि कम्तिमा कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ भने हस्तकला तालिमका लागि सामान्य लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ ।

चार पाङ्ग्रे चालक तालिममा ३१ जना र हस्तकला तालिममा ४० जना सहभागी गराइने जनाइएको छ ।

तालिम अवधिभर दैनिक रूपमा अभ्यासात्मक सिकाइ हुने र सहभागीलाई व्यावसायिक सीप विकासमा केन्द्रित गरिने उपमहानगरपालिकाले जनाएको छ ।

आवेदन दिने इच्छुकहरूले नागरिकताको प्रतिलिपि तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उपमहानगरपालिकामा आवेदन दिनुपर्नेछ ।

मागभन्दा बढी आवेदन परेमा अन्तर्वार्तामार्फत सहभागी छनोट गरिने जनाइएको छ ।

तालिम सम्बन्धी थप जानकारीका लागि सामाजिक विकास शाखामा सम्पर्क गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।