जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस मनाइयो, पारदर्शिता र सुधारमा जोड

जनकपुरधाम, २० चैत । जनकपुरधाममा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी ६९औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ आयोजित दिवसमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको आयोजनामा भएको कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि आयोजित औपचारिक कार्यक्रममा वक्ताहरूले सहकारी क्षेत्रमा देखिएका समस्या र सुधारका उपायबारे धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले पछिल्लो समय सहकारीकर्मी तथा बचतकर्ताहरू समस्यामा परेको उल्लेख गर्दै त्यसको समाधान खोज्नु आवश्यक रहेको बताए ।
उनले सहकारीप्रति सकारात्मक सन्देश प्रवाह गर्दै विश्वास पुनःस्थापना गर्नु अहिलेको मुख्य आवश्यकता भएको धारणा व्यक्त गरे ।
त्यसैगरी, प्रदेश सहकारी रजिष्ट्रार कार्यालय मधेशका प्रमुख रुपेशकुमार साहले सहकारी क्षेत्रको सुधारका लागि नियमनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
उनका अनुसार पारदर्शिताको अभाव नै सहकारी क्षेत्रमा देखिएको मुख्य समस्या भएकाले अहिले त्यसतर्फ विशेष ध्यान केन्द्रित गरिएको छ ।
नेपालमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइँदै आएको छ । यस दिवसले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता अभिवृद्धि तथा सदस्यहरूको हित संरक्षणमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


