महोत्तरी, २० चैत । महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुखले पदभार ग्रहण गरेको पहिलो दिनमै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरूले प्रश्न उठाउन थालेका छन् ।

हालसम्म उक्त सेवाबाट कति नागरिक लाभान्वित भए भन्ने स्पष्ट विवरण सार्वजनिक नहुँदा जनस्तरमा अन्योल र असन्तुष्टि बढ्दो छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता डा. सज्जन ठाकुरले स्वास्थ्य सेवा जस्तो आधारभूत विषयमा देखिएको ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरेका छन् । उनले नगरपालिकाले हालसम्म एउटा समेत एम्बुलेन्स थप्न नसक्नु नेतृत्वको कार्यशैली र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउने विषय भएको बताए ।

उनका अनुसार विश्व तथा देशका विभिन्न स्थानमा ‘बाइक एम्बुलेन्स’ जस्ता सरल, सस्तो र छिटो सेवा प्रभावकारी रूपमा प्रयोगमा आइसकेका छन् । ‘यस्ता नवीन र व्यवहारिक उपायहरू समयमै अपनाइएको भए धेरै नागरिकले आकस्मिक स्वास्थ्य सेवा सहज रूपमा पाउने थिए,’ उनले भने ।

डा. ठाकुरले विकासलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

‘सडक र भवनभन्दा पनि जनताको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा सुदृढ गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने ।

उनले अब घोषणालाई व्यवहारमा रूपान्तरण गर्ने समय आएको उल्लेख गर्दै स्थानीय सरकारलाई स्वास्थ्य सेवा सुधारमा केन्द्रित हुन आग्रह गरेका छन् । ‘जनताको अपेक्षा पूरा गर्नु नै नेतृत्वको मुख्य दायित्व हो,’ उनले थपे ।