वडा १४ को प्रभावशाली जित, ७९ रनले वडा ६ लाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश

जनकपुरधाम, १९ चैत । जनकपुरधाममा जारी वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नम्बर १४ ले उत्कृष्ट प्रदर्शन गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ ।
वडा ६ विरुद्धको खेलमा वडा १४ ले ७९ रनको फराकिलो जित निकाल्दै आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको वडा १४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो ।
टोलीका ब्याट्सम्यानहरूले संयमित र आक्रामक खेल प्रदर्शन गर्दै मध्यम लक्ष्य तयार पारेका थिए ।
१४७ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वडा ६ भने सुरुदेखि नै दबाबमा देखियो । वडा १४ का बलरहरूको सशक्त प्रदर्शनका कारण वडा ६ १४.३ ओभरमै ६७ रनमा अलआउट हुन पुग्यो ।
खेलमा राहुल यादवले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ६ विकेट लिएर टोलीको जितमा निर्णायक भूमिका खेले । उनको घातक बलिङकै कारण विपक्षी टोली सानो स्कोरमा समेटिन बाध्य भयो ।
उत्कृष्ट प्रदर्शनका लागि यादव म्यान अफ द म्याच घोषित भए ।उनलाई उक्त पुरस्कार संतोष साहले प्रदान गरेका थिए ।
यस जितसँगै वडा १४ प्रतियोगिताको सेमीफाइनल चरणमा प्रवेश गरेको छ । प्रतियोगिता अब निर्णायक चरणमा प्रवेश गर्दै थप प्रतिस्पर्धात्मक बन्ने विश्वास गरिएको छ ।
यसैबीच, सेमीफाइनल अन्तर्गत शुक्रबार बिहान ८ बजे वडा १७ र वडा २० तथा दिउँसो १२:३० बजे वडा १९ र वडा २० बीच प्रतिस्पर्धा हुने तालिका रहेको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


