मधेशलाई हराउँदै आर्मी अंक तालिकाको शीर्ष स्थानमा

जनकपुरधाम, १९ चैत । जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी विभागीय टोली शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार सम्पन्न खेलमा आर्मीले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै चौथो जित हात पारेसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
यससँगै मधेश प्रदेशले प्रतियोगितामा पहिलो हार बेहोरेको छ । १ सय ८५ रनको लक्ष्य पछ्याएको आर्मीले २९.२ ओभरमै ४ विकेट गुमाएर सहज जित निकाल्यो ।
आर्मीका ओपनर त्रितराज दास र कप्तान विनोद भण्डारीले पहिलो विकेटका लागि ६७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई मजबुत सुरुवात दिलाए ।
विनोद ३२ रनमा आउट हुँदा भीम सार्की ८ र कुशल मल्ल २४ रनमा पेभेलियन फर्किएका थिए । उत्कृष्ट लयमा देखिएका त्रितराज दासले ७२ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६९ रन बनाएर जितको आधार तयार पारे । अन्त्यतिर बसिर अहमदले अविजित ४१ रन जोड्दै टोलीलाई लक्ष्यसम्म पुर्याए ।
मधेशका मोहम्मद आदिल आलामले २ विकेट लिए भने पवन सर्राफ र विशाल सुशलिङले समान १/१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश ४८.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८४ रनमा समेटिएको थियो ।
शुरुवाती दुई ओपनर मयान यादव (५) र निरज यादव (९) सस्तोमा आउट भएपछि मधेश दबाबमा परेको थियो ।
कप्तान अनिल शाह र पवन सर्राफले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । पवन २२ रनमा आउट भए भने अनिल शाहले ६० बलमा ४३ रन बनाए ।
मधेशका लागि विशाल सुशलिङले ७३ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे भने विशाल पटेलले १६ रन जोडे । अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन् ।
आर्मीका बलर बसिर अहमदले ३ विकेट लिँदा साहाब आलम र नरेन साउदले समान २/२ विकेट लिए ।
जितसँगै आर्मीले ५ खेलबाट ९ अंक बनाएको छ भने मधेश ७ अंकसहित दोस्रो स्थानमा छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका त्रितराज दास ‘म्यान अफ दि म्याच’ घोषित भए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


