भानुचोकदेखि रेल्वे स्टेशनसम्मको फुटपाथ खाली

जनकपुरधाम, १९ चैत । बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका र मधेश प्रदेश सरकारको संयुक्त पहलमा आज भानुचोकदेखि रेल्वे स्टेशनसम्म अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको छ ।
अभियानअन्तर्गत भानुचोक–रेल्वे स्टेशन सडक खण्डमा रहेका फुटपाथ अतिक्रमण हटाइएको हो ।
अभियानमा स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा नगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।
अभियानका क्रममा सडक किनार तथा पैदलमार्गमा राखिएका ठेला, टहरा तथा अस्थायी संरचनाहरू हटाइएका छन् ।
सार्वजनिक स्थल अतिक्रमण गरी सञ्चालन गरिएका अनधिकृत पसलहरू हटाउँदै पैदल यात्रुका लागि फुटपाथ खाली गरिएको प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आवतजावत सहज बनाउन यस्तो कदम चालिएको हो ।

उपमहानगरपालिकाले सार्वजनिक स्थानको संरक्षण तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
व्यवसायीहरूलाई वैकल्पिक व्यवस्थापनका लागि सहजीकरण गरिने तयारी भइरहेको प्रशासनको भनाइ छ । अभियानका क्रममा केही व्यवसायीले असन्तुष्टि जनाए पनि अधिकांश स्थानीयले फुटपाथ खाली गराउने कार्यलाई सकारात्मक रूपमा लिएका छन् ।
स्थानीयवासीहरूले लामो समयदेखि पैदल यात्रुहरूलाई हिँडडुलमा समस्या भइरहेको अवस्थामा यस्तो अभियान आवश्यक रहेको बताएका छन् ।
पछिल्लो समय बढ्दो शहरीकरणसँगै देखिएको अतिक्रमण समस्या समाधानका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


