जनकपुरधाम, १९ चैत । विश्व अटिजम सचेतना दिवसको अवसरमा जनकपुरधामस्थित मोनास्टिक आवासीय माध्यमिक विद्यालयले बिहीबार विशेष सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई अटिजम अर्थात् मस्तिष्क विकाससँग सम्बन्धित अवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले अटिजम भएका व्यक्तिहरूको सोच्ने, बुझ्ने र अभिव्यक्त गर्ने तरिका सामान्यभन्दा फरक हुने भएकाले उनीहरूको सामाजिक व्यवहार पनि भिन्न देखिन सक्ने बताए ।

यस्ता बालबालिकालाई विशेष सहयोग, सहकार्य र संवेदनशील व्यवहार आवश्यक पर्नेमा उनीहरूले जोड दिए ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि विश्वभर मनाइँदै आएको यस दिवसले अटिजम भएका व्यक्तिहरूको अधिकार, गरिमा र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्ने सन्देश प्रवाह गर्दै आएको छ ।

यस वर्ष पनि संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रहरूलाई अटिजम भएका व्यक्तिहरूको योगदानको सम्मान गर्न आह्वान गरेको छ ।

विद्यालयकी प्रधानाध्यापिका डा. सिखा नायकले अटिजम भएका बालबालिकालाई माया, सहानुभूति र विशेष ध्यान आवश्यक पर्ने उल्लेख गर्दै विद्यालयस्तरमै समावेशी शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।

उनले अटिजम भएका विद्यार्थीहरूलाई उपेक्षा नगरी प्रोत्साहन र अवसर दिनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा सहभागीहरूले अटिजमसम्बन्धी जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए ।