‘जनताको मत भन्दा विदेशी योजना?’– मधेशका सांसदको संघीय सरकारमाथि कटाक्ष

जनकपुरधाम, १८ चैत । मधेश प्रदेश सभाका सांसदहरूले संघीय सरकारले विकास र शान्ति सुरक्षाको काम गर्नुभन्दा व्यक्तिगत प्रतिशोधको राजनीतिमा लागेको आरोप लगाएका छन् ।
बुधबार प्रदेश सभामा बोल्ने अधिकांश सांसदहरूले सरकारको व्यवहारले देशको शान्ति सुरक्षा खलबलिन सक्ने चेतावनी समेत दिए ।
बैठकमा सांसद हरिनारायण यादवले बालेन शाह नेतृत्वको संघीय सरकारले जेनजी आन्दोलनको नाममा गठन गरिएको छानबीन समितिलाई व्यक्तिगत प्रतिशोध साध्न प्रयोग गरेको आरोप लगाए ।
उनले भने, ‘गौरीबहादुर कार्कीको नेतृत्वमा तयार पारेको प्रतिवेदनलाई विभिन्न दलका नेताहरूमाथि झुठा मुद्दा लगाएर जेल हाल्न प्रयोग गरिँदैछ । यसले देशमा शान्ति सुरक्षा खलबलिन सक्ने सम्भावना छ ।’
उनले थपे, ‘आज कांग्रेस र एमालेका नेताहरूमाथि झुठा मुद्दा लगाएर जेल हालिन्छ भने भविष्यमा अन्य पार्टीको सरकार हुँदा त्यस्तै प्रक्रिया गरिनुपर्ने अवस्था आउँछ ।’
सांसद सुरिता साहले पनि संघीय सरकारले देशमा शान्ति सुरक्षा कायम राख्नभन्दा व्यक्तिगत प्रतिशोध साध्न खोजेको आरोप लगाइन् ।
उनले संघीय सरकार मधेश विरोधी भएको दाबी गर्दै भनिन्, ‘मधेशीको मतबाट बनेको सरकारमा मधेशी, दलित र आदिवासी जनजातिको सहभागिता कतिको छ? यसैले प्रष्ट हुन्छ ।’
सांसद रामसरोज यादवले संघीय सरकारले विदेशी प्रभावमा काम गर्दै आएको आरोप लगाए ।
उनले भने, ‘निर्वाचनमार्फत जनताको मत अनुसार सरकार गठन भए पनि जेनजी आन्दोलनको छानबिन समिति गठन गरेर पूर्वमन्त्री तथा नेताहरूमाथि झुठा मुद्दा लगाउने तयारी देखाउँछ कि सरकार विदेशी योजना अनुसार देशमा खेलखेलको शिकार भएको छ ।’
सांसद बिना देवी शर्माले पनि संघीय सरकारको उद्देश्य व्यक्तिगत दुश्मनी मेट्नमा सीमित भएको बताइन् । उनले भनिन्, ‘एमाले र कांग्रेसका नेताहरूमाथि पक्राउ र झुठा मुद्दा लगाउने तयारी जारी छ । यसले सरकारको वास्तविक उद्देश्य स्पष्ट पार्दछ ।’
बैठकमा अधिकांश सांसदहरूले प्रतिशोध साध्नकै लागि गौरीबहादुर कार्कीको नेतृत्वमा छानबीन समिति गठन भएको बताए । सांसदहरूले भदौ २३ र २४ गतेका विध्वंसका घटनामा संलग्न व्यक्तिहरूको छानबिन गर्न समेत जोड दिए ।
उनीहरूको भनाइ अनुसार राजधानीदेखि प्रदेशसम्म मन्त्रीहरूको घर र सम्पत्ति जलाउने घटनामा संलग्नहरूलाई कारवाही गर्न आवश्यक छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


