आर्थिक विकासका लागि गणकलाई विवरण दिन व्यवसायीहरू निर्धक्क

जनकपुरधाम, १८ चैत । आगामी वैशाख २ गतेबाट धनुषा जिल्लामा सुरु हुन लागेको राष्ट्रिय आर्थिक गणना २०८२ लाई सफल बनाउन निजी क्षेत्रका व्यवसायीहरूले आफ्नो पूर्ण सहयोग र सहभागिताको प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला आर्थिक गणना कार्यालय धनुषाले बुधबार जनकपुरधाममा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उद्योग, वाणिज्य तथा अन्य प्रतिष्ठानका प्रतिनिधिहरूले आर्थिक गणनाले सही तथ्याङ्क उपलब्ध गराउँदा देशको नीति निर्माण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले आफूहरूले गणकलाई आवश्यक विवरण प्रदान गर्न तयार रहेको जनाए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक विकास र नयाँ नीति निर्माणका लागि व्यवसायिक संस्थाहरूले तथ्यमा आधारित विवरण उपलब्ध गराउन सुझाव दिए ।
त्यस्तै, औषधि व्यवसायी संघका अध्यक्ष प्रमोद अग्रवालले पनि गणनाको आधारमा देशमा आर्थिक योजना र विकासमा मद्दत पुग्ने भएकाले सही विवरण उपलब्ध गराउन व्यवसायीहरूलाई अनुरोध गरे ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले पनि गणनामा आउने गणकहरूलाई सबैले तथ्यपरक जानकारी उपलब्ध गराउन अपिल गरे ।
जिल्ला आर्थिक गणना कार्यालयका जिल्ला गणना अधिकृत शिवनारायण महतोका अनुसार यस पटकको आर्थिक गणना १८ वटा क्षेत्रलाई आधार मान्दै वैशाख २ गतेदेखि असार ७ गतेसम्म धनुषा जिल्लामा सञ्चालन हुनेछ ।
नेपाल सरकारको लगानी र तयारीमा भइरहेको यस कार्यक्रममा सबै सरोकारवालाले सहयोग गर्नुपर्ने महत्त्व उल्लेख गरिएको छ ।
नेपालमा पहिलो आर्थिक गणना २०७५ सालमा जापान सरकारको सहयोगमा सम्पन्न भएको थियो ।
सो समयमा गणना भएका प्रतिष्ठानमध्ये दर्ता भएका संस्थाको संख्या ५०.१ प्रतिशत र दर्ता नभएका संस्थाको संख्या ४९.९ प्रतिशत रहेको थियो ।
मधेश प्रदेशमा १ लाख १७ हजार ६ सय ७० प्रतिष्ठानको गणना गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


