जनकपुरधाम, १८ चैत । जनकपुरधाममा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत क्वार्टरफाइनल चरणको खेलमा वडा नं. १७ ले प्रभावशाली प्रदर्शन गर्दै वडा नं. २३ लाई १७ रनले पराजित गरेको छ ।

यस जितसँगै वडा नं. १७ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं. १७ ले निर्धारित १४ ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।

टोलीका लागि पंकज यादवले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ४२ रन बनाए । उनको इनिङ्समा ५ चौका र २ छक्का समावेश थिए ।

त्यस्तै, रुपेशले २३ रन तथा रुपेश मुखिया ‘बी’ ले १७ रन थप्दै टोलीलाई मजबुत स्कोरसम्म पुर्‍याए ।

११२ रनको लक्ष्य पछ्याएको वडा नं. २३ निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ९५ रनमै सीमित भयो ।

वडा नं. १७ का बलरहरूले कसिलो बलिङ गर्दै विपक्षीमाथि निरन्तर दबाब बनाएका थिए ।

प्रदीपले ३ विकेट लिएर खेलको दिशा मोड्दा रुपेश मुखिया ‘बी’ ले २ विकेट हात पार्दै जित सुनिश्चित गरे ।

खेलमा उत्कृष्ट प्रदर्शनका लागि वडा नं. १७ का पंकज यादव ‘म्यान अफ द म्याच’ घोषित भए ।

उनलाई अटो मोबाइल डिलर एसोसिएशनका अध्यक्ष पंकज यादव र किशन दीक्षितले पुरस्कार प्रदान गरेका थिए ।

अब सेमीफाइनलमा वडा नं. १७ ले वडा नं. २० सँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल शुक्रबार दिउँसो १२:३० बजे हुने तालिका रहेको छ ।