पर्सा मालपोतमा करोडौँ घोटाला, ४ अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्सा, १८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गर्दै राजस्व चुहावटमार्फत ठूलो रकम हिनामिना गरिएको आरोप लगाएको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालयको रजिस्ट्रेसन फाँट ‘ग’ बाट संकलित राजस्वमध्ये २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ अनियमितता भएको देखिएको छ ।
सोही प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीसहित अन्यलाई प्रतिवादी बनाइएको हो ।
आरोपपत्रअनुसार मिश्रसँग ३८ लाख ८० हजार, बोगटीसँग १ करोड १० लाखभन्दा बढी, अर्यालसँग २१ लाख र कुर्मीसँग करिब ९९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
यसै प्रकरणमा संलग्न रहेको भन्दै तत्कालीन नायब सुब्बा स्वर्गीय किरणप्रसाद उपाध्यायका हकमा उनका अंशियार छोराहरूसँग समेत सोही बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।
अख्तियारले सरकारी राजस्वमा गम्भीर हिनामिना भएको ठहर गर्दै दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


