चितवन, १८ चैत । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ दासढुंगामा रोकिराखिएको तेल ट्याङ्करमा यात्रुबाहक बस ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन् ।

वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारमा पार्किङ गरिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइते यात्रुहरूको तत्काल उद्धार गरी भरतपुरस्थित विभिन्न अस्पतालमा पठाइएको थियो । हाल सबै घाइतेहरूको उपचार नेशनल सिटी अस्पतालमा भइरहेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य, केहीको मध्यम र दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनापछि बस चालक र ट्याङ्कर चालक दुवै फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार घाइतेहरू चितवन र मकवानपुर जिल्लाका बासिन्दा रहेका छन् ।