प्रधानमन्त्री र मधेशका सांसदबीच विकास एजेन्डामा केन्द्रित छलफल

काठमाडौं, १८ चैत । प्रधानमन्त्री बालेन्द्र शाह र मधेश प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूबीच बुधबार सिंहदरबारमा विकासका प्राथमिकता विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त बैठकमा प्रधानमन्त्री शाहले जिल्लागत तथा क्षेत्रगत रूपमा तत्काल कार्यान्वयन गर्नुपर्ने योजनाबारे सांसदहरूसँग सुझाव संकलन गरे ।
बैठकमा सहभागी सांसदहरूले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, भौतिक निर्माण, सिँचाइ तथा कृषि क्षेत्रका समस्या र सम्भावनाबारे धारणा राखेका थिए ।

छलफलमा सहभागी सांसद मनिष झाका अनुसार छोटो र दीर्घकालीन दुवै खालका योजनालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग विस्तृत कुराकानी भएको हो ।
‘स्थानीय आवश्यकता अनुसारका कार्यक्रमहरू तत्काल सञ्चालन गर्नुपर्ने र दीर्घकालीन योजना पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिइयो,’ उनले भने ।
प्रधानमन्त्री शाहले यसअघि सुदूरपश्चिम र कोशी प्रदेशका सांसदहरूसँग पनि यस्तै प्रकारको छलफल गरिसकेको जनाइएको छ ।
सरकारले प्रदेशगत आवश्यकतालाई सम्बोधन गर्दै विकासका कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले यस किसिमका परामर्शलाई निरन्तरता दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


