जनकपुरधाम, १८ चैत । वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले जसपा नेपालसँगको एकीकरण भंग गर्दै आफ्नो पुरानो पार्टी पुनःस्थापित गरेको छ ।

गत मंसिर २४ गते तमलोपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता प्रगतिशील पार्टी नेपालबीच एकीकरण भएको थियो ।

तर, करिब तीन हप्तापछि लोसपा र जसपा नेपालबीच हुने एकताको प्रक्रिया अघि बढ्दा तमलोपाले आफूलाई अलग्गै राख्नुपर्ने अवस्था आयो ।

तमलोपाका नेता रविशंकरकुमार कर्णले भने, ‘हामी पार्टी एकतामा गएका थियौं । तर, अब तमलोपा आफ्नै हैसियतमा सक्रिय छ ।’

पार्टी पुनःस्थापना सम्बन्धी निर्णयको कारणबारे तमलोपाका एक नेताले दाबी गर्दै भने, ‘जसपा नेपाल र लोसपाका नेताहरूले संस्थागत मूल्य, राजनीतिक मर्यादा र आत्मसम्मानको बेवास्ता गरे । यसकारण हामीलाई पुरानै पार्टी ब्युँताउनुपर्ने भयो ।’