पेठिया बजारमा सडक र पैदलमार्ग अतिक्रमणमुक्त

जनकपुरधाम, १८ चैत । बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका र मधेश प्रदेश सरकारको संयुक्त पहलमा आज पेठिया क्षेत्रमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको छ ।
पेठिया बजार केन्द्रित गरी सञ्चालन गरिएको उक्त अभियानमा स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा नगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।
अभियानका क्रममा सडक किनार तथा पैदलमार्गमा राखिएका ठेला, टहरा तथा अस्थायी संरचनाहरू हटाइएका छन् ।
अभियानको क्रममा सार्वजनिक स्थल अतिक्रमण गरी सञ्चालन गरिएका अनधिकृत पसलहरू हटाउँदै पैदल यात्रुका लागि फुटपाथ खाली गराइएको जनाइएको छ ।
स्थानीय प्रशासनका अनुसार बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आवतजावत सहज बनाउन यस्तो कदम चालिएको हो ।
उपमहानगरपालिकाका प्रतिनिधिहरूले सार्वजनिक स्थानको संरक्षण र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइने बताएका छन् ।
उनीहरूले फुटपाथ पैदल यात्रुका लागि सुरक्षित बनाउन र ट्राफिक व्यवस्थापन सुधार गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
यस्तै, अतिक्रमण हटाइसकेपछि उक्त क्षेत्रमा सौन्दर्यकरण, हरियाली प्रवर्द्धन तथा पैदलमैत्री संरचना विकास गर्ने योजना रहेको पनि जनाइएको छ ।
व्यवसायीहरूलाई वैकल्पिक व्यवस्थापनका लागि सहजीकरण गरिने तयारी समेत भइरहेको छ ।
अभियानका क्रममा केही व्यवसायीले असन्तुष्टि जनाए पनि अधिकांश स्थानीयले फुटपाथ खाली गराउने कार्यलाई सकारात्मक रूपमा लिएका छन् ।
उनीहरूले लामो समयदेखि पैदल यात्रुहरूलाई हिँडडुलमा समस्या भइरहेको अवस्थामा यस्तो अभियान आवश्यक रहेको बताए ।
पछिल्लो समय बढ्दो शहरीकरणसँगै देखिएको अतिक्रमण समस्या समाधानका लागि यस्ता अभियानहरूलाई निरन्तरता दिइने प्रशासनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


