ढल्केबरको एक होटलमा युवती मृत भेटिइन्, सञ्चालकसहित कर्मचारी फरार

जनकपुरधाम, १७ चैत । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । घटनापछि होटल सञ्चालकसहित कर्मचारी फरार भएका छन् ।
प्रहरीका अनुसार ढल्केबरस्थित ‘जुन तारा स्टाप लाइन होटल’मा मंगलबार बिहान करिब ११ः३० बजे पोखरा महानगरपालिका–१३ मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी हुन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार युवतीको शव मुखबाट फिज निस्किएको अवस्थामा फेला परेको हो ।
प्रारम्भिक निरीक्षणमा शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको उनले जानकारी दिए ।
घटनापछि होटल सञ्चालक रामपुकार साह तथा त्यहाँ कार्यरत अन्य कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको छ ।
घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


