जनकपुरधाम, १७ चैत । जनकपुरधाममा सञ्चालित एक डान्स बारमा कार्यरत युवतीहरूले यौनकार्य गर्न अस्वीकार गर्दा सामूहिक कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले बारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा अघि बढाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित मुख्य सडक छेउमा रहेको ‘ब्ल्याक एण्ड ह्वाइट डान्स बार क्लब’मा चैतको पहिलो साता उक्त घटना भएको प्रहरीले जनाएको छ ।

पीडित चार जना युवतीले आफूहरूमाथि अमानवीय व्यवहार भएको र कुटपिटका कारण घाइते भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पीडित युवतीहरूको निवेदनका आधारमा बारका लेखापाल सञ्जयकुमार यादव र कर्मचारी काशिन्द्र महतोलाई पक्राउ गरिएको छ ।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपोसारको अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।

‘इज्जत बेच्न सक्दैनौँ’ भन्दा कुटपिट
पीडितका अनुसार उनीहरू ‘वेट्रेस’को रूपमा काम गर्न भन्दै बारमा भर्ना भएका थिए । तर, केही समयदेखि व्यवस्थापन पक्षले ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिँदै आएको थियो ।

चैत ३ गते सोही विषयमा विवाद भएपछि युवतीहरूले यौनकार्य गर्न अस्वीकार गर्दै प्रतिकार गरेका थिए । त्यसलगत्तै उनीहरूलाई एउटा कोठामा थुनेर लात्ती, मुक्का र पाइपले निर्घात कुटपिट गरिएको आरोप छ ।

एक पीडित युवतीले भनिन्, ‘हामी काम गरेर गुजारा चलाउन आएका थियौँ । तर, यहाँ हामीलाई जबरजस्ती यौन दासीजस्तो व्यवहार गरियो ।’

पीडितहरूले कुटपिटपछि आफूहरूलाई बाहिर निस्कन नदिइएको, मोबाइल फोनसमेत खोसिएको र मानसिक दबाबमा राखिएको बताएका छन् । साथै, काम गरेबापतको ज्याला र टिप्ससमेत नदिइएको उनीहरूको गुनासो छ ।

डान्स बारभित्रै यौन धन्दा चलाइएको आरोप
पीडितहरूले उक्त डान्स बारमा ग्राहकसँग रकम लिएर यौन कार्य गराउने संगठित गतिविधि भइरहेको दाबी गरेका छन् ।

उनीहरूका अनुसार आकर्षक तलबको प्रलोभनमा युवतीहरूलाई काममा लगाएर पछि दबाब, धम्की र शोषणमार्फत यौनकार्यमा धकेलिने गरिएको छ ।

स्थानीय बासिन्दाले पनि मुजेलियामा यस्ता गतिविधि बढ्दै गएको गुनासो गर्दै आएका छन् । यसअघि पनि सोही बारका सञ्चालकविरुद्ध यस्तै प्रकृतिका आरोपमा प्रहरी कारबाही भएको खुलेको छ ।

अदालतबाट म्याद थप, अनुसन्धान जारी
पीडित युवतीहरूले आइतबार औपचारिक रूपमा मानव बेचबिखन तथा ओसारपोसारको जाहेरी दिएपछि धनुषा जिल्ला अदालतले पक्राउ परेकामाथि अनुसन्धानका लागि म्याद थप गरेको छ ।

प्रहरीका अनुसार हाल पीडितहरूलाई सुरक्षित स्थानमा राखेर उपचार तथा कानूनी परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत भइरहेको छ ।

कडा कानूनी व्यवस्था
नेपालको मानव बेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन, २०६४ अनुसार यस्तो अपराधमा संलग्न व्यक्तिलाई १० देखि २० वर्षसम्म कैद सजाय र ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

कानूनले मानिसको किनबेच गर्नेलाई २० वर्षसम्म र ओसारपोसारमा संलग्नलाई १५ वर्षसम्म कैद सजायको प्रावधान राखेको छ ।