काठमाडौँ, १६ चैत । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।

उनले आजैदेखि लागू हुने गरी आफ्नो पद त्याग गरेका हुन् ।

राजीनामापत्रमा झाले मुलुकको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात् गर्दै नवगठित सरकारले आफ्नै अनुकूलताअनुसार कार्य सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले पद छाड्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले सरकारको सफल कार्यकालको कामना पनि गरेका छन् ।

‘हालको राजनीतिक परिस्थिति र नैतिक जिम्मेवारीलाई ध्यानमा राख्दै मार्ग प्रशस्त गर्नु उचित ठानेको छु,’ उनले राजीनामामा लेखेका छन् ।

झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्को निर्णयअनुसार राससको अध्यक्षमा नियुक्त गरिएको थियो ।