सर्लाही, १६ चैत । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जबर्जस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय पाएका र जिल्ला कारागार रौतहटमा कैद भुक्तान गरिरहेका २९ वर्षीय दिपेश साह सोनार (उर्फ शेरु साह) लाई पक्राउ गरिएको हो ।

दुर्गाभगवती गाउँपालिका–५ वडहर्वा टोल घर भएका सोनार ३ वर्ष ९ महिना कैद भुक्तान गरिरहेका बेला गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

प्रहरीका अनुसार उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलबासमा लुकीछिपी बसेको अवस्थामा सोमबार दिउँसो करिब १ बजे पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका सोनारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः जिल्ला कारागार रौतहट पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।