जनकपुरधाममा अतिक्रमणविरुद्ध निरन्तर ‘एक्सन’: आज पनि फुटपाथ खाली

जनकपुरधाम, १६ चैत । मधेश प्रदेश सरकारको ‘अतिक्रमणविरुद्ध अभियान’ले आज पनि निरन्तरता पाएको छ ।
सोमबार पनि गंगासागर पोखरी क्षेत्रबाट अवैध संरचना खाली गराइएको हो ।
गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको निर्देशनमा स्थानीय प्रशासन, जनकपुरधाम उपमहानगरपालिका र सुरक्षाकर्मीको संयुक्त टोलीले बजार क्षेत्रका सडक किनारामा बनाइएका अस्थायी टहरा, ठेला र अव्यवस्थित पसल हटाएको हो । अभियानका क्रममा डोजरसमेत प्रयोग गरिएको थियो ।
नगरको भीडभाड हुने क्षेत्रमा फुटपाथ अतिक्रमणका कारण पैदलयात्रीलाई सास्ती हुँदै आएको थियो । सोमबार बिहानैदेखि सुरु गरिएको अभियानपछि ती क्षेत्रहरू तुलनात्मक रूपमा खुला र व्यवस्थित देखिएका छन् ।
अभियानको अनुगमन गर्दै मन्त्री महतोले सार्वजनिक स्थललाई अतिक्रमणमुक्त बनाउने कार्य निरन्तर जारी रहने बताए ।
उनले भने, ‘सडक र फुटपाथ सर्वसाधारणका लागि हुन् । व्यक्तिगत प्रयोजनका लागि होइनन् । नियम विपरीत संरचना राख्ने कार्य अब सह्य हुँदैन ।’

धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अभियानलाई थप विस्तार गरिने जनाइएको छ ।
अभियानका क्रममा केही व्यापारीले वैकल्पिक व्यवस्था नगरी हटाइएको भन्दै असन्तुष्टि जनाए पनि धेरै स्थानीयवासीले भने पैदलमार्ग खुला भएपछि सहजता बढेको बताए ।
यसअघि आइतबार गंगासागर क्षेत्रमा गरिएको डोजर अभियानपछि प्रदेश सरकार ‘एक्सन मोड’मा गएको थियो । सोही लयलाई निरन्तरता दिँदै आजको फुटपाथ व्यवस्थापन अभियानलाई शहरी अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले आगामी दिनमा बजार व्यवस्थापन, पार्किङ नियन्त्रण र हरियाली प्रवर्द्धनलाई समेत जोड दिँदै दीर्घकालीन योजना अघि बढाउने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


