लगातार तेस्रो जितसँगै मधेशको उपाधि दावेदारी बलियो

जनकपुरधाम, १६ चैत । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति कायम राखेको छ ।
निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश ३१.२ ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमै समेटिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको मधेशले २४.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गर्यो ।
मधेशको जितमा ओपनर निरज यादवले संयमित ब्याटिङ गर्दै ५९ बलमा ३८ रन बनाए । अर्का ओपनर मयन यादवले २२ बलमा २४ रन जोड्दा अरनिको यादवले अविजित ३२ रनको महत्वपूर्ण योगदान दिए । पवन श्राफले १७ रन बनाउँदै टोलीलाई जिततर्फ अग्रसर गराएका थिए ।
कर्णालीतर्फ बलिङमा दिपेन्द्र रावतले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए पनि अन्य बलरहरूले अपेक्षाकृत दबाब सिर्जना गर्न सकेनन् । दिवान पुन र प्रकाश जैशीले समान १–१ विकेट हात पारे ।
यसअघि कर्णालीका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए । अर्जुन घर्तीले २४, दिनेश अधिकारी र विपिन रावलले समान १८–१८ रन जोडे भने कप्तान दिवान पुनले १२ रन बनाए ।
मधेशको बलिङ आक्रमण प्रभावशाली देखिएको थियो । आशिक बैठाले १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिएर खेलको नायक बने । विशाल पटेल र अरनिको यादवले समान २–२ विकेट लिए भने प्रदीप पासवानले १ विकेट हात पारे ।
यो जितसँगै मधेश प्रदेशले चार खेलबाट ७ अंक जोडेको छ । मधेशको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने बाँकी तीन खेलमा उसले लगातार जित दर्ता गरेको छ ।
प्रतियोगितामा मधेशको यो लयले उपाधि दावेदारीलाई थप बलियो बनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


