परीक्षा हल ‘ग्याजेट–फ्री जोन’: एसईई निष्पक्ष बनाउन मधेश सरकारको कडा कदम

जनकपुरधाम, १५ चैत । मधेश प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कडा निगरानी र अनुशासनका साथ सञ्चालन गरिने भएको छ ।
परीक्षा प्रणालीलाई निष्पक्ष र व्यवस्थित बनाउन प्रदेश सरकारले विशेष रणनीति अपनाउँदै चिट चोरीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको हो ।
प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयले चैत १९ गतेदेखि सुरु हुने एसईईलाई लक्षित गर्दै सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
आइतबार जनकपुरधाममा आयोजित तयारी बैठकमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको लापरवाही सह्य नहुने स्पष्ट पारिन् ।
उनका अनुसार पछिल्लो समय मधेशमा बढ्दै गएको चिट चोरीको प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरी, जिल्ला प्रशासन कार्यालय र शिक्षा निकायबीच सशक्त समन्वय गरिनेछ ।
‘परीक्षाको विश्वसनीयता कायम राख्न सबै पक्ष जिम्मेवार र कडाइका साथ प्रस्तुत हुनुपर्छ,’ मन्त्री तिवारीले भनिन् ।
यस वर्ष विशेषगरी मोबाइल फोन, स्मार्ट वाच लगायतका विद्युतीय उपकरणको प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाइने भएको छ ।
परीक्षा केन्द्रभित्र यस्ता सामग्री फेला परेमा जफत गरेर फिर्ता नदिई सम्बन्धित पक्षको उपस्थितिमा तत्काल नष्ट गरिने चेतावनी समेत दिइएको छ ।
मन्त्री तिवारीले शिक्षा क्षेत्रमा ठूलो लगानी हुँदाहुँदै अपेक्षित नतिजा नआएकोप्रति चिन्ता व्यक्त गर्दै ‘चिट चोरी सामान्य हो’ भन्ने सोच अन्त्य गर्न कडाइ अपरिहार्य भएको बताइन् ।
साथै, परीक्षा केन्द्रमा हुने भनिएको मिलेमतो (सेटिङ) रोक्न केन्द्राध्यक्ष र सम्बन्धित कर्मचारीमाथि पनि विशेष निगरानी गरिने जनाइएको छ ।
परीक्षा अवधिभर केन्द्राध्यक्ष बाहेक अन्य कसैले पनि परीक्षा हलभित्र कुनै पनि विद्युतीय उपकरण प्रयोग गर्न नपाउने व्यवस्था गरिनेछ ।
आगामी चैत १९ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसईई मधेश प्रदेशका आठवटै जिल्लामा पनि सञ्चालन हुने तयारी अन्तिम चरणमा पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


