एमालेका प्रभावशाली नेता साह रास्वपा प्रवेश

सिरहा, १५ चैत । सिरहा जिल्लामा नेकपा एमालेका सक्रिय नेता तथा सिटिइभिटी मधेश प्रदेशका पूर्वनिर्देशक नागेन्द्रप्रसाद साहले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले नयाँ राजनीतिक यात्रा थालेका हुन् ।
एमालेमा संगठित सदस्यका रूपमा लामो समयदेखि क्रियाशील रहँदै विभिन्न जिम्मेवारी सम्हालेका साहलाई रास्वपाका उपसभापति डिपी अर्यालले पार्टीको लोगो अंकित ब्याच लगाइ औपचारिक रूपमा स्वागत गरे ।
सो कार्यक्रममा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको समेत उपस्थिति रहेको थियो ।
राजनीतिक वृत्तमा प्रभाव राख्ने साहको प्रवेशले सिरहामा रास्वपाको संगठन विस्तारमा थप बल पुग्ने विश्लेषण गरिएको छ ।
स्रोतका अनुसार साहले आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै आफ्नो राजनीतिक रणनीति परिवर्तन गरेका हुन् ।
साहकी श्रीमती बबिता कुमारी साह हाल सिरहा नगरपालिकाकी उपमेयर रहेकी छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा मेयर पदको टिकट नपाएपछि एमालेले उनलाई उपमेयरको उम्मेदवार बनाएको थियो ।
सिरहा नगरपालिका–१० नरैहिया निवासी साह पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि सक्रिय रूपमा परिचालित भएका थिए ।
उनले सिरहा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार लीलानाथ श्रेष्ठको पक्षमा चुनावी अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


