फुटपाथ खाली गराउने मन्त्री महतोको अभियान सराहनीय: युवा नेता साह

जनकपुरधाम, १५ चैत । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोद्वारा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको शहरभित्रका फुटपाथ तथा अत्यधिक भिडभाड हुने स्थानहरू खाली गराउने अभियानप्रति जनस्तरबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ ।
यसै क्रममा जनकपुरधामका चर्चित युवा नेता राकेश विक्रम साहले उक्त पहलको प्रशंसा गर्दै मन्त्री महतोलाई बधाई ज्ञापन गरेका छन् ।
साहले लामो समयदेखि अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको फुटपाथ व्यापार र सडकमै फैलिएको भीडभाडका कारण जनकपुरधामको सौन्दर्य, यातायात व्यवस्थापन तथा सर्वसाधारणको दैनिक आवतजावतमा समस्या भइरहेको उल्लेख गरेका छन् ।
यस्तो अवस्थामा प्रदेश सरकारले अघि सारेको व्यवस्थापनमुखी अभियानले शहरलाई सफा, व्यवस्थित र सहज बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ ।
उनले भने, ‘फुटपाथ तथा सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियानले जनकपुरधामलाई आधुनिक र व्यवस्थित सहरतर्फ लैजाने आधार तयार गरेको छ । मन्त्री फकिरा महतोले देखाएको सक्रियता सराहनीय छ । यसका लागि उहाँ बधाईका पात्र हुनुहुन्छ ।’
युवा नेता साहले फुटपाथ हटाउने अभियान मात्र पर्याप्त नहुने पनि औंल्याएका छन् । उनले साना व्यवसायी, ठेला व्यापारी तथा दैनिक जीविकोपार्जनमा निर्भर वर्गको संरक्षण र व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
‘शहर सुन्दर बनाउने क्रममा कसैको रोजीरोटी प्रभावित नहोस् भन्ने कुरामा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘उनीहरूका लागि वैकल्पिक तथा व्यवस्थित स्थानको व्यवस्थापन गरिएमा अभियान अझ प्रभावकारी र समावेशी बन्नेछ ।’
हाल जनकपुरधामका विभिन्न मुख्य चोक, बजार क्षेत्र तथा व्यस्त सडक किनारामा अव्यवस्थित रुपमा रहेका पसल तथा ठेलाहरू हटाउने कार्य तीव्र पारिएको छ ।
स्थानीय प्रशासन र उपमहानगरपालिकाको संयुक्त प्रयासमा सडक विस्तार, ट्राफिक व्यवस्थापन तथा पैदल यात्रुका लागि सहज वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।
स्थानीयवासीहरूले पनि अभियानप्रति मिश्रित प्रतिक्रिया जनाएका छन् । कतिपयले शहरको सुन्दरता र आवागमनमा सुधार आएको भन्दै स्वागत गरेका छन् भने केही साना व्यवसायीहरूले आफ्नो जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन् ।
जनकपुरधामलाई व्यवस्थित, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले अघि बढाइएको यो अभियानप्रति राजनीतिक तथा सामाजिक क्षेत्रबाट समर्थन बढ्दै गएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


