जनकपुरधाम, १५ चैत । जनकपुरधाम–२२ स्थित श्री माध्यमिक विद्यालय बसबिट्टीमा विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ ।

मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगमा स्थापना गरिएको उक्त प्रयोगशालाको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले विज्ञान प्रयोगशालाको सञ्चालनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्तो पूर्वाधारले अनुसन्धान क्षमता, सिर्जनशीलता तथा तथ्य पहिचान गर्ने सीप विकासमा सहयोग पुग्ने बताइन् ।

मन्त्री तिवारीले आधुनिक शिक्षामा विज्ञान र प्रविधिको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्दै प्रदेश सरकारले शैक्षिक सुधारका लागि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिइन् ।

उनका अनुसार आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्ता प्रयोगशालाहरू विस्तार गर्ने योजना रहेको छ ।

उक्त प्रयोगशाला स्थापना कार्यमा सहयोग गर्ने सम्पूर्ण निकाय, विद्यालय परिवार तथा स्थानीयवासीप्रति मन्त्री तिवारीले आभार व्यक्त गरिन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।