मधेश प्रदेश सभाको बैठक बस्दै, वार्षिक प्रतिवेदनहरू पेश हुने

जनकपुरधाम, १५ चैत । मधेश प्रदेश सभाको छैठौँ अधिवेशनअन्तर्गत १४औँ बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकमा विभिन्न महत्वपूर्ण प्रतिवेदनहरू पेश हुने कार्यसूची तय गरिएको छ ।
बैठकमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम रहेको छ ।
यस प्रतिवेदनमार्फत आयोगको वार्षिक गतिविधि, उपलब्धि तथा चुनौतीबारे सभालाई जानकारी गराइने छ ।
त्यसैगरी, मधेश प्रदेश सभा सदस्य शारदा थापाले ‘मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०८२’ को मस्यौदा समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस नियमावलीले प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
यस्तै, कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति संजय कुमार महतोले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम छ ।
प्रदेश सभा सचिव वासु प्रसाद कोइरालाका अनुसार आजको बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरू प्रदेशको प्रशासनिक तथा नीतिगत कार्यसम्पादन मूल्याङ्कनका दृष्टिले महत्वपूर्ण मानिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


