जनकपुरधाम, १५ चैत । मधेश प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ ।

गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले लामो समयदेखि विवादमा रहेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य लिएको जनाइएको छ ।

स्थानीय प्रशासन, प्रहरी तथा नगरप्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो ।

गृहमन्त्री महतोले गंगासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको विषय भएको उल्लेख गरे ।

उनले भने, ‘गंगासागर जस्ता सम्पदाहरू अतिक्रमणको चपेटामा पर्नु दुःखद हो । अब कुनै पनि हालतमा सार्वजनिक जग्गा हडप्ने प्रवृत्ति सह्य हुँदैन । कानून सबैका लागि बराबर लागू हुन्छ ।’

उनले प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर ढंगले प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताए ।

‘यो अभियान कुनै व्यक्ति वा समूहविरुद्ध नभई कानूनी शासन स्थापित गर्ने अभियान हो,’ उनले जोड दिए ।

स्थानीयवासीले वर्षौंदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए । पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले भने वैकल्पिक व्यवस्थाविनै हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यस अभियानलाई हालै गठन भएको बालेन्द्र शाह (बालेन) नेतृत्वको संघीय सरकारको ‘एक्सन–ओरिएन्टेड’ शैलीको प्रभावका रूपमा समेत हेरिएको छ ।

संघीय सरकार गठनपछि प्रशासनिक सक्रियता बढेको र त्यसको असर प्रदेश तहसम्म देखिन थालेको स्थानीय बताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिकाका एक अधिकारीका अनुसार गंगासागर क्षेत्रको दीर्घकालीन संरक्षणका लागि विस्तृत योजना तयार पारिँदैछ । यसअन्तर्गत हरियाली प्रवर्द्धन, पदमार्ग निर्माण र धार्मिक पर्यटनको विकासमा जोड दिइनेछ ।

गंगासागर पोखरी जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये एक मानिन्छ । अतिक्रमण हटाउने अभियानले यसको मौलिक स्वरूप जोगाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।