बजेट दुरुपयोगको आरोपमा मिथिला–५ को वडा कार्यालयमा तालाबन्दी

जनकपुरधाम, १५ चैत । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित वडा कार्यालयमा बजेट दुरुपयोगको आरोप लगाउँदै स्थानीय बासिन्दाले आइतबार तालाबन्दी गरेका छन् ।
जनप्रतिनिधि र कर्मचारीले वडाको बजेट प्रयोग गरी आफ्ना श्रीमती तथा आफन्तलाई धार्मिक तथा पर्यटकीय भ्रमणमा लगेको आरोप स्थानीयले लगाएका छन् ।
स्थानीयवासीका अनुसार जनप्रतिनिधिहरूले सार्वजनिक सेवा प्रवाहलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थका लागि बजेट खर्च गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।
स्थानीय गणेश महतोले जनताको काम प्रभावित हुने गरी कार्यालय बन्द गरेर भ्रमणमा जानु गैरजिम्मेवार कदम भएको टिप्पणी गरे ।
तालाबन्दीका कारण वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा ठप्प भएको छ ।
स्थानीयले भ्रमणसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न, खर्चको पारदर्शिता कायम गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । माग सम्बोधन नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी उनीहरूले दिएका छन् ।
यसअघि वडा कार्यालयले चैत १० गते सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारी धार्मिक तथा पर्यटकीय भ्रमणमा जाने भन्दै पाँच दिनका लागि सेवा बन्द रहने जानकारी दिएको थियो ।
यता, भ्रमणमा रहेका वडाध्यक्ष रामचन्द्र मण्डलले भने सबै राजनीतिक दलको सहमतिमा कार्यक्रम आयोजना गरिएको दाबी गर्दै वडाका सबै जनता आफ्नै आफन्त जस्तै भएकाले समावेशी रूपमा भ्रमण गरिएको प्रतिक्रिया दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


