काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारी कर्मचारीहरूलाई कुनै पनि बहाना नदेखाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले पदभार ग्रहणलगत्तै कर्मचारीहरूलाई आफ्नो सरकारको गति र उद्देश्यअनुसार काम गर्न सुझाव दिएका हुन् ।

शुक्रबार शपथ ग्रहणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित छोटो ब्रिफिङमा उनले कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘जसरी हामीले सरकार गठन गरेका छौं र अघि बढ्न खोजेका छौं, त्यही स्पिरिट तपाईंहरूले पनि समात्नुपर्छ । नियम वा कानुन परिवर्तन गर्नुपर्ने अवस्थामा पनि बाहनाबाजी नगरी काम गर्नुहोस् । कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन ।’

एक सचिवले भने, ‘प्रधानमन्त्रीले कर्मचारीहरूलाई पाँच मिनेटमात्रै सम्बोधन गर्दै काममा तत्पर रहन आग्रह गर्नुभयो । उहाँको सम्बोधन छोटो भए तापनि यसको अर्थ स्पष्ट छ – ढिलासुस्ती र बहाना कुनै कारणले स्वीकार्य छैन ।’

उनले कर्मचारीहरूलाई आफू नेतृत्वको सरकार बलियो भएको स्मरण गराउँदै नियम, कानुन र प्रशासनिक प्रक्रियामा कुनै अवरोध नल्याई काम गर्न निर्देशन दिएका हुन् ।

‘कुनै पनि विषयमा बाहनाबाजी गरेर काम रोक्नुहुँदैन । नियम कानुन जे गर्नुपर्ने हो, त्यसको लागि सरकार सक्षम छ र तपाईंहरूले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ,’ सचिवले उद्धृत गर्दै भने ।

प्रधानमन्त्रीको निर्देशनपछि कर्मचारीहरू बीच कामप्रतिको जिम्मेवारी र तत्परता बढ्ने विश्वास गरिएको छ ।

ब्रिफिङमा सहभागी मन्त्रीहरू र सचिवहरूका अनुसार प्रधानमन्त्री शाहले आफ्नो सरकारको ‘स्पिरिट’ कैच गर्न र कार्यक्षेत्रमा ढिलासुस्ती नगर्न विशेष जोड दिएका छन् ।

उनका अनुसार ढिलासुस्ती र बहानाले सरकारी योजनाहरूमा ढिलाइ हुने मात्र नभई जनता माझ सरकारको छवि पनि कमजोर हुने जोखिम हुन्छ ।