काम नगर्ने मन्त्रीले पद छाड्नुपर्छ: प्रधानमन्त्री बालेन

काठमाडौं, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले काम गर्न नसक्ने भए पद छाड्न तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको पहिलो क्याबिनेट बैठकमा उनले सरकारको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिँदै ढिलासुस्ती अस्वीकार्य हुने बताएका हुन् ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री शाहले मन्त्रीहरूको कार्यक्षमतामाथि विश्वास व्यक्त गर्दै नतिजामुखी काम गर्न जोड दिएका थिए ।
‘हामीसँग काम गर्ने गति उच्च हुनुपर्छ । यदि कसैलाई यो गतिमा काम गर्न गाह्रो लाग्छ भने मार्ग खाली गरिदिनु राम्रो हुन्छ,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती मन्त्रीले बताए ।
प्रधानमन्त्रीले मन्त्रीहरूलाई ‘लोकसेवा उत्तीर्ण कर्मचारीजस्तै सक्षम’ भएको उल्लेख गर्दै प्रशंसा गरेका थिए । साथै, जनताको सेवा र नागरिक सर्वोच्चतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे ।
बैठकमा उनले कानुनी जटिलता देखाएर काम रोक्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानुन संशोधन गर्न सरकार सक्षम रहेको स्पष्ट पारे ।
‘कानुनलाई बहाना बनाएर काम रोक्नु हुँदैन, आवश्यक परे तुरुन्त सुधार गर्छौं,’ उनले भने ।
त्यसैगरी, उनले गलत निर्देशन नमान्न र सही कामलाई कुनै पनि हालतमा नरोक्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले देशमा सकारात्मक परिवर्तन देख्न चाहेको उल्लेख गर्दै ‘नेपाल हाँसेको देख्न पाऊँ’ भन्ने आफ्नो आकांक्षा व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


