जनकपुरधाम, १३ चैत । जनकपुरधाममा रामायणको अन्तरसांस्कृतिक महत्व, नैतिक मूल्य र जीवित परम्पराबारे केन्द्रित ४६औँ अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

नेपाल साहित्यिक सङ्घ (ल्यान) को आयोजना तथा राजर्षि जनक विश्वविद्यालयको सहकार्यमा सञ्चालन भइरहेको उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ ।

‘रामायण : अन्तरसांस्कृतिक आख्यान, नैतिक संवाद र जीवित परम्परा’ शीर्षकमा आयोजित सम्मेलन शुक्रबारदेखि औपचारिक रूपमा प्रारम्भ भएको हो ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका विद्वान्, अनुसन्धानकर्ता तथा साहित्यकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सहभागीहरूले रामायणका सांस्कृतिक, दार्शनिक र सामाजिक आयामबारे गहन विमर्श गर्ने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार सम्मेलनले रामायणलाई धार्मिक ग्रन्थको रूपमा मात्र नभई बहुआयामिक सांस्कृतिक धरोहरका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

साथै, यसले विभिन्न देशबीच सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्मेलन शनिबार समापन हुनेछ ।