-ज्योति झा
जनकपुरधाम, १३ चैत ।
त्रेतायुगमा मर्यादा पुरूषोत्तम भगवान रामको जन्म अयोध्यामा एक राजकुमारका रूपमा भए पनि उनको परिचय मात्र राजपरिवारमा सीमित रहेन । उनी मानव जीवनका आदर्श, मर्यादा र कर्तव्यनिष्ठाको प्रतीक बने । राजा दशरथ र रानी कौशल्याका पुत्रका रूपमा जन्मिएका रामलाई हिन्दू धर्ममा भगवान विष्णुको अवतार मानिन्छ । तर, उनको जीवनको सार दिव्यता भन्दा बढी मानवतामा केन्द्रित देखिन्छ ।

राजघरानामा जन्मिए पनि रामले विलासिताभन्दा अनुशासन रोजे । विश्वामित्र गुरुको गुरुकुलमा बसेर उनले शास्त्र र शस्त्र मात्र नभई जीवनका नैतिक मूल्यहरू सिके । यसले देखाउँछ शिक्षा अधिकार नभई कर्तव्य हो ।

रामको जीवनको महत्वपूर्ण मोड जनकपुरधाममा आयोजित सीताको स्वयंवर थियो । शक्तिशाली राजाहरूले नउठाउन सकेको धनुष रामले सहज रूपमा उठाए । यससँगै सीता सँग विवाह भयो र अयोध्या जनकपुरधामबीचको सम्बन्ध अझ प्रगाढ बन्यो । तर, जीवनको यात्रा सहज थिएन । राजकुमार भएर पनि रामले आमाबुवाको आज्ञालाई सर्वोपरि मानेर १४ वर्षको वनवास स्वीकार गरे ।

सीताले पत्नी धर्म निर्वाह गर्दै साथ दिइन् भने लक्ष्मणले दाजुप्रतिको समर्पणको उदाहरण प्रस्तुत गरे । यसले परिवार, कर्तव्य र सम्बन्धको वास्तविक अर्थ स्पष्ट पार्छ । वनवासका कठिनाइबीच पनि रामले आफ्नो मर्यादा कहिल्यै त्यागेनन् । पछि राजधर्म पालनाका क्रममा उनले व्यक्तिगत जीवनमा गहिरो चोट सहनुपर्‍यो सीतासँगको वियोग ।

यो निर्णय आजको दृष्टिकोणले विवादास्पद लाग्न सक्छ । तर, त्यसबेला उनले प्रजाको विश्वासलाई प्राथमिकता दिएका थिए । महत्त्वपूर्ण कुरा के हो भने सीतासँग गहिरो प्रेम हुँदाहुँदै पनि रामले दोस्रो विवाह गरेनन् । यज्ञका क्रममा पत्नीको स्थानमा सीताको मूर्ति स्थापना गरेर उनले आफ्नो निष्ठा र प्रतिबद्धता देखाए । यही कारणले उनलाई ‘पुरुषोत्तम’ भनिएको हो ।

कलियुगमा प्रवेशसँगै सामाजिक मूल्यहरूमा परिवर्तन देखिएको छ । आज कर्तव्यभन्दा अधिकार, त्यागभन्दा स्वार्थ र मर्यादाभन्दा व्यक्तिगत स्वतन्त्रता अगाडि आएको छ ।

अहिलेको समाजमा न त आमाबुवाको कुरा सुन्ने संस्कार बलियो छ, न त कर्तव्य पालन गर्ने प्रतिबद्धता । वैवाहिक सम्बन्धहरू पनि कमजोर बन्दै गएका छन् ।

श्रीमती हुँदाहुँदै अन्य सम्बन्धमा अल्झिने प्रवृत्ति वा जीवनसाथी गुमाएको केही समयमै पुनः विवाह गर्ने हतारो । यी सबैले सम्बन्धको गहिराइ घटेको मान्न सकिन्छ ।

पहिलेका आदर्शमा समाज र प्रजाको हितका लागि व्यक्तिगत सुख त्याग गर्ने प्रवृत्ति थियो । तर, अहिलेका धेरै नेतृत्वकर्ताहरू व्यक्तिगत स्वार्थ, परिवार र नजिकका घेराभित्र सीमित भएको देखिन्छ ।

समाजको भलाइभन्दा निजी फाइदालाई प्राथमिकता दिने प्रवृत्तिले सामाजिक सन्तुलन नै कमजोर बनाएको छ ।

आज जनकपुरधाममा रामको नाममा भव्य उत्सवहरू मनाइँदै छन् । श्रद्धा, आस्था र परम्पराको प्रदर्शन भइरहेको छ । तर, मूल प्रश्न अझै उभिएको छ के हामी मात्र उत्सव मनाउनमै सीमित छौं? वा रामका आदर्शहरूलाई जीवनमा उतार्ने प्रयास पनि गरिरहेका छौं?

रामको सान्दर्भिकता धार्मिक आस्थामा मात्र सीमित छैन । उनी आज पनि हाम्रो आचरण, सोच र समाज निर्माणका लागि मार्गदर्शक हुन् । यदि हामीले उनका आदर्श, कर्तव्य, मर्यादा, त्याग र निष्ठालाई व्यवहारमा उतार्न सक्यौं भने मात्र साँचो अर्थमा ‘रामराज्य’ सम्भव हुनेछ ।